भिजिट भिसा प्रकण : बयान फेर्ने सरकारी साक्षीविरुद्ध पनि मुद्दा


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका दीपक थापाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

थापाले अदालतमा पहिले दिएको बयान विपरीत बकपत्र गरेको पाइएपछि उनीविरुद्ध पुनः मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थायी ठेगाना भएका तथा DMC Travels Pvt. Ltd., पोखराका तत्कालीन मार्केटिङ अफिसर थापालाई यसअघि सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो । अनुसन्धानमा सहयोग गरेको आधारमा उनलाई सजायमा पूर्ण छुट दिइएको थियो ।

तर विशेष अदालत काठमाडौंमा २०८३ वैशाख १५ गते भएको बकपत्रका क्रममा उनले आयोगमा दिएको बयान र आरोप–दाबी विपरीत अभिव्यक्ति दिएको पुष्टि भएपछि उनीमाथि कारबाही अघि बढाइएको हो ।

अनुसन्धानका क्रममा थापाले भिजिट भिसामा मानिस विदेश पठाउने सेटिङ गर्ने, एयरपोर्ट अध्यागमनमा यात्रु व्यवस्थापन गर्ने, होटल बुकिङ तथा डलर सटहीका कागजात मिलाउने कार्यमा संलग्न रहेको खुलेको आयोगले जनाएको छ ।

आयोगका अनुसार उनी बालकृष्ण खड्काका सहयोगीका रूपमा राष्ट्रसेवक तिर्थराज भट्टराईलाई घुस/रिसवत दिनसमेत सहयोग गरेको पाइएकाले मतियारको कसुरमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले थापामाथि ३० लाख २० हजार रुपैयाँ बिगो कायम गर्दै सोही बराबर जरिवाना, कैद तथा रकम जफतको मागदाबी गरेको छ । प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया