
विशेष महाधिवेशनमा को थियो भन्ने आधारमा निर्णय हुँदैन: गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई जिम्मेवारी दिएर पार्टीलाई समावेशी ढंगले अघि बढाउने बताएका छन् ।
प्रजातान्त्रिक विकास समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आवश्यक परे कसैलाई वरिष्ठ भूमिकामा राख्न पनि आफू तयार रहेको बताए ।
उनले पार्टीका निर्वाचन समिति, सदस्यता समिति लगायतका संरचनामा इतर समूहका नेताहरूलाई समेत सहभागी गराउने संकेत गरे ।
“१४औँ महाधिवेशनबाट निर्वाचित ठूलो पंक्ति अहिले बाहिर छ,” थापाले भने, “प्रत्येकलाई सहभागी गराएर काम गर्न चाहन्छु । अधिवेशनको तिथिमिति तय भइसकेको छ, निर्वाचन समितिमा अरू को–को साथीलाई राख्ने भन्ने विषयमा पनि छलफल गर्छौं ।”
सभापति थापाले अहिले पार्टी राष्ट्रिय एजेन्डामाथि केन्द्रित भए पनि आन्तरिक व्यवस्थापनलाई पनि समान महत्व दिइएको बताए ।
जिम्मेवारी बाँडफाँट गर्दा विशेष महाधिवेशनमा कसले सहभागिता जनाएको थियो वा थिएन भन्ने आधार नबनाइने उनको स्पष्ट भनाइ थियो ।
“अवसर दिने विषयमा को विशेष महाधिवेशनमा थियो वा थिएन भन्ने आधारमा निर्णय हुँदैन,” उनले भने ।
क्रियाशील सदस्यता सम्बन्धमा महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिमा आवश्यक परे हेरफेर गर्न सकिने उल्लेख गर्दै थापाले सदस्यता अद्यावधिक प्रक्रिया भने रोकिन नसक्ने बताए ।
“कांग्रेसका सक्रिय सदस्यलाई सदस्यता नवीकरण गर्न भनिएको हो,” उनले भने, “अद्यावधिक नै नगर्ने भन्ने कुरा होइन । नयाँ साथीहरूलाई जोड्नुस्, सबैलाई समेट्नुस् भन्ने हाम्रो उद्देश्य हो ।”



कागजपत्र |
