
संविधान संशोधनका लागि राष्ट्रिय आयोग गठन गर्न अर्जुननरसिंह केसीको माग
काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा ‘राष्ट्रिय संविधान सुधार सुझाव आयोग’ गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै नेता केसीले संविधान संशोधन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले संविधान संशोधनलाई दलगत स्वार्थको विषय नबनाउन आग्रह गर्दै संविधान कुनै एक दलको इच्छा वा अभिमतको दस्तावेज बन्न नहुने बताए ।
“संविधान भनेको कुनै पार्टीको चाहना मात्रै प्रतिनिधित्व गर्ने दस्तावेज होइन,” उनले भने, “पछिल्लो १० वर्षको संवैधानिक अभ्यासमा देखिएका कमजोरी, त्रुटि र व्यावहारिक चुनौतीलाई आधार बनाएर व्यापक राष्ट्रिय बहस आवश्यक छ ।”
केसीले राजनीतिक दल मात्र नभई नागरिक समाज, बुद्धिजीवी र अन्य सरोकारवालासँग राष्ट्रिय संवाद सञ्चालन गरी सर्वपक्षीय सम्मेलनमार्फत संविधान संशोधनको साझा खाका तयार गर्नुपर्ने धारणा राखे ।
उनले सरकारले गठन गरेको संविधान बहस कार्यदलले संशोधन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन नसक्ने टिप्पणी गर्दै संशोधनका लागि मात्र संशोधन गर्न नहुने बताए ।
हतारमा गरिने संशोधनले केही वर्षमै पुनः राजनीतिक टकराव निम्त्याउन सक्ने चेतावनी दिँदै उनले नेपाललाई द्वन्द्वको अखडा बन्नबाट जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।
“पूर्वप्रधानन्यायाधीश वा राष्ट्रले विश्वास गरेका संवैधानिक विज्ञको संयोजकत्वमा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन हुनुपर्छ,” उनले भने ।
केसीले संसद् अधिवेशनअघि सरकारले ल्याएका अध्यादेशहरूको श्रृंखलाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे । राष्ट्रिय सहमतिबिना वर्तमान राजनीतिक अभ्यास र संविधान संशोधन प्रक्रिया अघि बढाइए मुलुक पुनः द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उनको भनाइ थियो ।



कागजपत्र |
