प्रतिनिधिसभामा महावीर पुन – एक्लो सांसद भनेर हेला नगरियोस्


काठमाडौं-  स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा बोल्नका लागि आफूलाई कम समय दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा धारणा राख्ने क्रममा उनलाई ५ मिनेट मात्र समय दिइएपछि उनले त्यसप्रति आपत्ति जनाउँदै आफूलाई “एक्लो सांसद” भनेर हेला नगर्न चेतावनी दिएका हुन्।

पुनले अन्य दलका सांसदहरूले १०, १५ वा ३० मिनेटसम्म बोल्ने समय पाउँदा आफूलाई भने ५ मिनेट मात्र दिनु उचित नभएको बताए।

“म एक्लो माननीय भनेर हेला नगरियोस्,” उनले संसद्मा भने, “अरूलाई १०–१५ मिनेट, २० मिनेट, ३० मिनेट दिँदा मलाई चाहिँ ५ मिनेट मात्रै किन ?”

उनले आफू कुनै दलमा आबद्ध नभए पनि जनसमर्थनका हिसाबले कमजोर नरहेको दाबी गरे। “म एक्लो छैन,” उनले भने, “तपाईंहरूको कुनै पनि पार्टीको सदस्यभन्दा मेरा समर्थक धेरै छन्। विश्वास लाग्दैन भने जनमत लिनुस्।”

सांसद पुनले आफूलाई देशभरका नागरिकले चिन्ने उल्लेख गर्दै आफ्नो साथमा आम नेपाली रहेको दाबी गरे। “बच्चाबच्चाले चिन्छन्, टोलटोलमा चिन्छन्,” उनले भने, “त्यसैले ५ मिनेटको समय मलाई स्वीकार्य छैन।”

प्रतिक्रिया