१२ वर्षमा ३६ प्रतिशत मात्रै काम गरेपछि घुमाउने मोटरेबल पुलको ठेक्का अन्त्य


तनहुँ-  पोखरा–नारायणगढ सडकखण्डअन्तर्गत बुद्धसिंह मार्गको घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ । तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको उक्त पुल निर्माणमा १२ वर्षसम्म पनि प्रगति नभएपछि सडक डिभिजन कार्यालय दमौलीले ठेक्का रद्द गरेको हो ।

सडक डिभिजन कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीले पटक–पटक दिइएको निर्देशनको अवहेलना गरेको भन्दै प्रचलित कानुनअनुसार ठेक्का अन्त्य गरिएको जनाएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने पुल निर्माणका लागि ‘मृत सञ्जीवनी निर्माण सेवा’सँग गरिएको सम्झौता तोडिएको हो । कार्यालयले गत चैत १७ गते संशोधित डिजाइन स्वीकृत भइसकेपछि १५ दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिएको थियो । तर, उक्त निर्देशनपछि पनि निर्माण कम्पनी सम्पर्कमा नआएको र कुनै प्रगति नदेखिएपछि सम्झौतामा उल्लेखित गम्भीर उल्लङ्घनको आधारमा ठेक्का रद्द गरिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

पुल निर्माणमा भएको लामो ढिलासुस्तीका कारण स्थानीयवासी लामो समयदेखि आन्दोलित हुँदै आएका थिए । पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले निर्माण कम्पनीले जनताको अपेक्षामाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

विसं २०७० असारमा रु १० करोड २१ लाख ८६ हजार लागतमा सम्झौता भएको १०५ मिटर लामो उक्त पुलको हालसम्मको भौतिक प्रगति केवल ३६ प्रतिशत मात्रै रहेको जनाइएको छ ।

पुल निर्माण सम्पन्न भए दमौलीबाट चितवन पुग्न हालको मुग्लिन–डुम्रे सडकको तुलनामा करिब २५ किलोमिटर दूरी छोटो हुने अपेक्षा गरिएको छ । पुल नबन्दा यस क्षेत्रका छ÷सात वटा साना बस तथा जीप घुमाउनेघाटसम्म मात्रै सञ्चालनमा छन् । यात्रुहरू झोलुङ्गे पुल प्रयोग गरी मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुग्न बाध्य छन् भने दुई पाङ्ग्रे सवारीसाधन समेत डो¥याउँदै सडकमा पुर्‍याउने गरिएको छ ।

सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई अविलम्ब निर्माणस्थल खाली गर्न तथा बाँकी भुक्तानी भए १५ दिनभित्र हिसाब मिलान गर्न निर्देशन दिएको छ । ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको बाँकी काम अघि बढाइने भएको छ । साथै, निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया पनि अघि बढाइएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया