
पाँच जिल्लामा पाँच जना मृत अवस्थामा फेला
काठमाडौं- देशका विभिन्न पाँच जिल्लामा पाँच जना नागरिक मृत अवस्थामा फेला परेका छन्। झापा, काभ्रे, भक्तपुर, कञ्चनपुर र मकवानपुरमा भएका छुट्टाछुट्टै घटनामा चार पुरुष र एक महिला मृत भेटिएका हुन्।
झापाको कनकाई नगरपालिका–४ कोटीहोममा शिवसताक्षी नगरपालिका–९ का ५४ वर्षीय खगेन्द्रकुमार सार्की सोमबार मृत अवस्थामा फेला परेका छन्।
काभ्रेको धुलिखेल नगरपालिका–१२ इट्टेस्थित सडक छेउको नालीमा अन्दाजी ५५ वर्षीय एक पुरुषको शव मंगलबार फेला परेको छ। उनको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल गुन्सा टोलस्थित खुल्ला चौरमा दोलखा तामाकोशी गाउँपालिका–५ घर भई हाल थिमीमा बस्दै आएकी ६४ वर्षीया कमला नेपाली सोमबार मृत अवस्थामा भेटिएकी हुन्।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ रामजानकी टोलस्थित खेतमा स्थानीय ४६ वर्षीय फिरु चौधरी सोमबार मृत फेला परेका छन्।
मकवानपुरको बागमती गाउँपालिका–५ दोभानस्थित बागमती खोला किनारमा काभ्रे खानीखोला गाउँपालिका–७ का ४५ वर्षीय मंगलबहादुर रूम्बा सोमबार मृत अवस्थामा फेला परेका हुन्।
सबै घटनाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ भने शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
