
संवैधानिक परिषद्मा अब तीनजनाको मतले निर्णय हुने व्यवस्था
काठमाडौं- प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा अब तीनजनाको मतबाटै निर्णय हुने व्यवस्था गरिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठकका लागि गणपूरक संख्या चार जना कायम गर्दै उपस्थित सदस्यको बहुमतका आधारमा निर्णय गर्न सकिने प्रावधान राखिएको हो।
संविधानअनुसार परिषद्मा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता गरी ६ जना सदस्य रहने व्यवस्था छ।
अध्यादेशको दफा ६ को उपदफा (४) अनुसार अब बैठक बस्नका लागि चार जना उपस्थित भए पुग्नेछ। त्यस्तै, उपदफा (५) को स्पष्टीकरण (ग) मा अध्यक्षसहित कम्तीमा तीन जनाले गरेको निर्णयलाई परिषद्को निर्णय मानिने व्यवस्था गरिएको छ।
यस प्रावधानअनुसार अब अध्यक्ष (प्रधानमन्त्री) र दुई जना सदस्यको सहमतिमै निर्णय गर्न सकिने अवस्था सिर्जना भएको छ।
त्यसैगरी, परिषद्का सबै ६ जना सदस्य उपस्थित हुँदा मत बराबरी भए अध्यक्षको मत निर्णायक हुने व्यवस्था पनि अध्यादेशमा उल्लेख छ।
अध्यादेशले सर्वसम्मत हुन नसके बहुमतबाट निर्णय गर्न सकिने बाटो खुला गरेको छ।



कागजपत्र |
