
कोशी प्रदेशतर्फ सर्दै हावाहुरी र चट्याङसहितको वर्षा प्रणाली
काठमाडौं- हावाहुरी र चट्याङसहितको वर्षा गराउने मौसमी प्रणाली विस्तारै कोशी प्रदेशतर्फ सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सक्रिय रहेको प्रणाली क्रमशः पूर्वतर्फ सर्दै कोशी प्रदेशतर्फ अघि बढिरहेको छ। उनका अनुसार कोशी प्रदेशका केही स्थानमा छिट्टै मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।
“हाल गण्डकी, लुम्बिनी र बागमतीमा सक्रिय प्रणाली विस्तारै कोशीतर्फ सर्दैछ, केही बेरमा कोशी प्रदेशमा चट्याङसहित वर्षा हुन सक्छ,” उनले भने।
पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा धनगढीमा मापन गरिएको छ। धनगढीमा ६० मिलिमिटर वर्षा भएको मौसमविद् अधिकारीले जानकारी दिए।
त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसमविद्हरूले हावाहुरी र चट्याङका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।



कागजपत्र |
