
बढ्दो खर्चले थलियो एयरलाइन्स, सरकारसँग राहत प्याकेजको माग
काठमाडाैं- नेपाल वायुसेवा सञ्चालक संघले हवाई सेवा क्षेत्रमा बढ्दो आर्थिक दबाबलाई ध्यानमा राख्दै सरकारसँग राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा संघले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो।
संघले २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। हाल मौसमी शुल्कअन्तर्गत आन्तरिक उडानका प्रत्येक अवतरण वा उडानमा अमेरिकी डलर १० तिर्नुपर्ने प्रावधानले सञ्चालन लागत बढाउनुका साथै यात्रु भाडादरसमेत महँगो बनाएको संघको भनाइ छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको ज्ञापनपत्रमार्फत संघले पछिल्ला अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले हवाई सेवा क्षेत्र गम्भीर दबाबमा परेको उल्लेख गरेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि, मध्यपूर्व क्षेत्रको द्वन्द्व, कोभिड–१९ महामारीको दीर्घ प्रभाव तथा २०८२ भदौमा भएको आन्दोलनका कारण हवाई इन्धनको मूल्य अत्यधिक बढेको संघले जनाएको छ।
यसको प्रभावस्वरूप वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च उल्लेखनीय रूपमा बढेको छ भने नेपाल आउने पर्यटकको संख्यामा पनि कमी आएको संघको दाबी छ। संघका अनुसार पहिले कुल सञ्चालन खर्चमा इन्धनको हिस्सा ३०–४० प्रतिशत हुने गरे पनि अहिले यो बढेर ५५–६० प्रतिशत पुगेको छ, जसले कम्पनीहरूको आर्थिक अवस्थामा गम्भीर दबाब सिर्जना गरेको छ।




कागजपत्र |
