काठमाडौंका चार स्थानमा डोजर चल्दै


काठमाडौं-  सरकारले दोस्रो चरणको अभियान अन्तर्गत सुकुमबासी तथा नदी किनार आसपासका बस्तीमा डोजर चलाउने कार्यलाई शनिबार पनि निरन्तरता दिएको छ। बिहानैदेखि बाक्लो प्रहरी परिचालनसहित विभिन्न स्थानमा संरचना भत्काउने काम भइरहेको छ।

शनिबार बिहान स्वयम्भू क्षेत्रबाट सुरु गरिएको अभियान त्यसपछि बालाजु र माछापोखरीका अतिक्रमित बस्तीमा केन्द्रित भएको छ। अनामनगरस्थित धोबी खोला किनारका बस्तीमा समेत डोजर चलाइएको छ।

यसअघि शुक्रबार टेकु, शंखमूल, बल्खु र बंशीघाट क्षेत्रमा व्यापक रूपमा डोजर प्रयोग गरिएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बल्खुमा ४०१, बंशीघाटमा १९३ र शंखमूलमा १५० वटा घर, टहरा तथा छाप्रा भत्काइएका छन्। उक्त अभियानपछि १ हजार ४१४ जना सरकारको सम्पर्कमा आएका छन्।

सरकारले यसअघि पहिलो चरणमा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाइसकेको थियो। अहिलेको अभियान सुकुमबासी व्यवस्थापनको नाममा सञ्चालन गरिएको बताइएको छ।

तर, वास्तविक सुकुमबासीको पहिचान नगरी जथाभावी रूपमा डोजर चलाइएको भन्दै सरकारको आलोचना चुलिँदै गएको छ। यसले नदी किनारमा बसोबास गर्ने अन्य नागरिकमा समेत त्रासको वातावरण सिर्जना गरेको छ।

सुकुमबासीको स्पष्ट पहिचान नहुँदा जोसुकैको घर भत्किन सक्ने डर बढेपछि स्थानीय बासिन्दा सचेत बन्न थालेका छन्। शुक्रबार शंखमूल क्षेत्रमा घरधनीहरूले आफ्ना घरमा जग्गाधनी पुर्जा टाँसेका थिए भने शनिबार धोबी खोला र रुद्रमती मन्दिर आसपासका बासिन्दाले पनि त्यही अभ्यास अपनाएका छन्।

प्रतिक्रिया