मौनता तोड्ने बेला आयो, कांग्रेस अब बोल्छ : गगन थापा


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्तीमाथि भइरहेको कारबाहीलाई मानविय संवेदनशीलता विपरीत रहेको टिप्पणी गरेका छन्।

शुक्रबार नेपाल ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले नदी किनार तथा विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीहरूमाथि डोजर प्रयोग गर्ने शैलीप्रति आपत्ति जनाए। उनका अनुसार कानुनले अवैध बसोबास हटाउने अधिकार सरकारलाई दिएको भए पनि वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी हटाउनु संविधानको भावना विपरीत हो।

उनले राज्यलाई ढाँटेर बसेकालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए, तर वास्तविक पीडित नागरिकमाथि कठोर र अमानवीय व्यवहार गर्नु उचित नहुने स्पष्ट पारे। “कानुनको परिधिमा रहेर काम गर्ने सरकारले आफ्नै नागरिकमाथि युद्ध वा अपराधीझैं व्यवहार गर्न सक्दैन,” उनले भने।

थापाले कांग्रेस केही समय मौन बसेको स्वीकार गर्दै त्यो मौनता सत्यको खोजीका लागि रहेको बताए। तर अब मौन बसिरहँदा जनताका प्रश्नहरू नै हराउने खतरा देखिएको भन्दै पार्टीले बोल्ने समय आएको उनको भनाइ छ। उनले अब जनताका आवाज उठाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने धारणा राखे।

प्रतिक्रिया