१५औं महाधिवेशन केन्द्रित शेखर पक्षको शक्ति प्रदर्शन, बागमतीमा छुट्टै राजनीतिक सन्देश


काठमाडाैं – नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनलाई केन्द्रमा राख्दै डा. शेखर कोइराला पक्षले बागमती प्रदेशमा आफ्नो राजनीतिक सक्रियता तीव्र बनाएको संकेत दिएको छ। बागमती प्रदेशस्तरीय छलफलका नाममा आयोजना गरिएको भेलाले महाधिवेशन लक्षित संगठन विस्तार, शक्ति सन्तुलन र नेतृत्वको नयाँ समीकरणबारे स्पष्ट सन्देश दिएको राजनीतिक वृत्तमा चर्चा छ।

भेलामा कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारी, प्रतिनिधिसभा/राष्ट्रियसभा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति देखिनु सामान्य भेटघाट मात्र नभई महाधिवेशनअघि आफ्नो पक्षलाई व्यवस्थित गर्ने रणनीतिक कसरतका रूपमा हेरिएको छ।

विशेषतः सभापति शेरबहादुर देउवा पक्ष संस्थापनको पकड कायम राख्न सक्रिय रहँदा, शेखर पक्ष भने वैकल्पिक शक्ति केन्द्रका रूपमा आफूलाई थप संगठित बनाउन मैदानमा उत्रिएको सन्देश यो भेलाबाट गएको छ। बागमतीजस्तो राजनीतिक रूपमा निर्णायक प्रदेशमा यस्तो जमघटले आगामी महाधिवेशनमा प्रतिनिधि व्यवस्थापनदेखि नेतृत्व चयनसम्म प्रभाव पार्ने आँकलन गरिएको छ।

कांग्रेसभित्र अहिले खुला रूपमा गुटगत राजनीति स्वीकार नगरे पनि, प्रदेशस्तरमा भइरहेका यस्ता भेला–बैठकले १५औं महाधिवेशनको दौड औपचारिक रूपमा सुरु भइसकेको संकेत गरेका छन्। बागमतीबाट उठेको यो राजनीतिक तरंग अब अन्य प्रदेशमा पनि विस्तार हुने सम्भावना देखिएको छ।

यस भेलाले एउटा प्रश्न भने स्पष्ट रूपमा उठाएको छ—कांग्रेसको आगामी नेतृत्व संस्थापनकै निरन्तरतामा जानेछ, कि शेखर कोइराला पक्षले नयाँ ध्रुवीकरणमार्फत पार्टीको शक्ति समीकरण बदल्नेछ? अब कांग्रेस राजनीतिमा चासोको केन्द्र यही बन्ने देखिन्छ ।

प्रतिक्रिया