४३२ पुग्यो रंगशालामा नाम दर्ता गराउने परिवारकाे संख्या


काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका परिवारहरू क्रमशः सरकारको सम्पर्कमा आउन थालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उनीहरूको विवरण संकलनको काम तीव्र रूपमा भइरहेको छ।

साँझ ५ बजेसम्मको विवरण अनुसार हालसम्म ४३२ परिवारले आफ्नो नाम दर्ता गराएका छन्। थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा लगायतका क्षेत्रमा बस्ती हटाइएपछि डर र अन्योलका कारण छरिएका सुकुम्बासीहरू अहिले धमाधम रंगशाला पुगेर विवरण टिपाइरहेका छन्।

शनिबार बिहान प्रहरीद्वारा माइकिङ गरी बस्ती खाली गर्न आग्रह गरेपछि धेरै परिवार सामानसहित अन्यत्र सरेका थिए। आफैं बसोबास र खानपानको व्यवस्था गर्न नसकेकाहरूका लागि सरकारले रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणले छुट्टाछुट्टै डेस्कमार्फत विवरण संकलन गरिरहेका छन्। त्यस्तै, काठमाडौं महानगरपालिकाको समन्वयमा स्वास्थ्य परीक्षण, खाना वितरण तथा अन्य आधारभूत सेवाहरू पनि प्रदान गरिँदै आएको छ।

विवरण दर्तापछि परिवारहरूलाई पाँचवटा ‘होल्डिङ सेन्टर’ मा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया