
गण्डक नहर किनारका करिब ३०० संरचना हटाउने अभियान सुरु
पर्सा- नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउने अभियान सुरु गरेको छ। आज बिहानैदेखि कार्यालयले नहरको जानकीटोला देखि गण्डकचोकसम्म फैलिएको क्षेत्रमा अतिक्रमित संरचना हटाउन थालेको हो।
कार्यालयका अनुसार नहरको डिलमा बनेका घरटहरा, पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाइनेछ। सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने चार वटा एस्काभेटरको प्रयोग गरी संरचना हटाउने काम भइरहेको छ।
कार्यालय प्रमुख मनोजप्रसाद पटेलले पर्सा जिल्लाभित्र पर्ने गण्डक नहरको करिब २६ किलोमिटर क्षेत्रमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको जानकारी दिए। प्रतिकूल मौसमका बाबजुद पनि बिहानैदेखि काम अघि बढाइएको उनले बताए।
गण्डक नहर नेपाल–भारतबीच सन् १९५६ डिसेम्बर ४ मा भएको सिँचाइ तथा जलविद्युत् सम्झौताअनुसार निर्माण गरिएको हो। भारत सरकारले नारायणी नदीमा ब्यारेज निर्माण गरी नेपालतर्फ सिँचाइ सुविधा विस्तार गरेको थियो।
सम्झौताअनुसार सन् १९७५–७६ मा नेपाललाई हस्तान्तरण गरिएको गण्डक नहर प्रणालीमार्फत पर्सा, बारा र रौतहटका दक्षिणी भेगमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ। नेपालतर्फ करिब ८१ किलोमिटर लम्बाइ रहेको यो नहरमा नौ वटा वितरण संरचना र ८७ वटा सहायक संरचना रहेका छन्।
सम्झौताअनुसार ३७ हजार ४०० हेक्टर क्षेत्रमा सिँचाइ हुनुपर्ने भए पनि हाल करिब २८ हजार हेक्टर क्षेत्रफल मात्र सिँचाइ भइरहेको कार्यालयले जनाएको छ।



कागजपत्र |
