
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावः आज गण्डकीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं – हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।
आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कागजपत्र |
