निगम घेर्न गएका जेनजीलाई प्रहरीले रोक्यो


काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राष्ट्रिय जेन–जी नागरिक अभियानले नेपाल आयल निगम नजिकै प्रदर्शन गरेको छ।

सोमबार बबरमहलस्थित आयल निगममा धर्ना दिन तथा ज्ञापनपत्र बुझाउन पुगेका युवाहरूलाई प्रहरीले हटाएपछि उनीहरूले निगम बाहिरै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले निगम परिसरमा प्रवेश गर्न खोजेपछि प्रहरीले समन्वय नभएको भन्दै उनीहरूलाई त्यहाँबाट हटाएको थियो। त्यसपछि आक्रोशित युवाहरूले ‘प्रहरी दमन मुर्दावाद’ र ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

अभियानका सह–संयोजक अजय सोडारीले आफूहरू पूर्वसमन्वय गरेरै ज्ञापनपत्र बुझाउन आएको दाबी गर्दै प्रहरीले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर आमजनतामा व्यापक रूपमा परेको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताए।

सोडारीले छिमेकी देशहरूमा मूल्य स्थिर रहँदा नेपालमा भने अत्यधिक वृद्धि गरिएकोप्रति असन्तुष्टि जनाए। उनले माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया