
ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नभए फेरि बमबारी
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा चेतावनी दिएका छन्। उनले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सहमति नभए इरानसँगको युद्धविराम अन्त्य हुन सक्ने बताएका हुन्।
एरिजोनाबाट वासिङटन फर्कँदै गर्दा एयर फोर्स वानमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, यदि सहमति हुन सकेन भने अमेरिका पुनः बमबारीमा उत्रिन बाध्य हुनेछ। साथै उनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी भने निरन्तर रहने स्पष्ट पारे।
ट्रम्पको यस अभिव्यक्तिप्रति इरानले कडा आपत्ति जनाएको छ। इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबफले ट्रम्पका भनाइलाई अस्वीकार गर्दै सामाजिक सञ्जालमार्फत उनलाई ‘झुटो दाबी’ गरेको आरोप लगाए। ट्रम्पले इरानले युद्ध रोक्न र युरेनियम बुझाउन सहमति जनाएको दाबी गरे पनि इरानले त्यसलाई पूर्ण रूपमा खण्डन गरेको छ।
गालिबफले अमेरिकाले नाकाबन्दी जारी राखे होर्मुज जलमार्ग खुला नरहने चेतावनी पनि दिएका छन्। उनका अनुसार उक्त क्षेत्रबाट हुने आवतजावत इरानको नियन्त्रणमा रहनेछ।
तनाव बढिरहे पनि कूटनीतिक पहल भने जारी छ। अमेरिका र इरानबीच अर्को चरणको वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा हुने सम्भावना रहेको छ। यसका लागि दुवै देशका प्रतिनिधि टोली आइतबार नै त्यहाँ पुग्ने जनाइएको छ।
पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीरले हालै इरान भ्रमण गरी वार्ताको वातावरण तयार पार्न भूमिका खेलेका छन्। साथै कतार र टर्कीले पनि पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गरेका छन्।



कागजपत्र |
