ललितपुरमा फोहोर संकलनका लागि ११ विद्युतीय गाडी सञ्चालन


ललितपुर- ललितपुर महानगरपालिकाले फोहोर संकलनका लागि ११ थान फोटोन टीएम१ विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ। शहरी फोहोर व्यवस्थापनमा नेपालमै पहिलो पटक इलेक्ट्रिक गाडी प्रयोग गरिएको उदाहरणका रूपमा यसलाई लिइएको छ।

नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शहरको आवश्यकताअनुसार कस्टमाइज गरिएका वेस्ट कलेक्सन भेहिकल महानगरलाई उपलब्ध गराएको हो। सामान्य बजारमा पाइने गाडीभन्दा फरक यी सवारी साधन विशेष रूपमा फोहोर संकलनका लागि डिजाइन गरिएका छन्।

महानगरका अनुसार यी विद्युतीय गाडीको प्रयोगले फोहोर व्यवस्थापन थप प्रभावकारी बनेको छ भने पहिले तीन जनाको टोली आवश्यक पर्ने काम अब दुई जनाबाटै सम्पन्न गर्न सकिने भएको छ। साथै, यसले महिलाका लागि रोजगारीका अवसर समेत सिर्जना गरेको जनाइएको छ।

महानगर प्रमुख चिरिबाबु महर्जनले प्रदूषणमुक्त शहरको लक्ष्यअनुसार पेट्रोल–डिजेलमुक्त विकल्प अपनाइरहेको अवस्थामा यी विद्युतीय गाडी उपयुक्त समाधान बनेको बताए।

एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत अनिल बरालले विद्युतीय फोहोर व्यवस्थापन अवधारणालाई व्यवहारमा उतार्न पाउँदा खुसी व्यक्त गर्दै स्वच्छ नेपाल निर्माणमा कम्पनी प्रतिबद्ध रहेको बताए।

कम्पनीका अनुसार देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १७१ भन्दा बढी सीसीएस२ डीसी फास्ट चार्जिङ स्टेशनमार्फत विद्युतीय सवारी प्रणालीलाई थप सुदृढ बनाइएको छ।

 

प्रतिक्रिया