कालीगण्डकीमा डुबेका दुई युवकको शव फेला


रूपन्देही-  पाल्पाको बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका–९ झिरभञ्ज्याङ निवासी तथा चन्द्र माध्यमिक विद्यालयका २९ वर्षीय शिक्षक तोयानाथ बस्याल (मदन) को शव बुधबार बिहान फेला परेको हो।

त्यस्तै, सोही गाउँपालिका–९ चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसालको शव बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।

नयाँ वर्ष मनाउन दैलातुङ क्षेत्रमा पुगेका उनीहरू मंगलबार साँझ करिब ५ बजे पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। त्यसपछि स्थानीय बासिन्दा, प्रहरी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले नदी किनार र आसपास क्षेत्रमा खोजी कार्य तीव्र बनाएको थियो।

निरन्तर खोजीपछि दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।

बस्याल चन्द्र माध्यमिक विद्यालय चापपानीमा इन्जिनियरिङ विषयका शिक्षक थिए भने भुसाल विदेशबाट बिदामा घर आएका थिए। दुवै जना एउटै टोलका रहेको जनाइएको छ।

प्रतिक्रिया