इन्धन महँगिएसँगै हवाई भाडा पनि वृद्धि, काठमाडाैं- धनगढी १५ देखि साढे २३ हजारसम्म


काठमाडौं – इन्धनको मूल्य लगातार बढेपछि पछिल्लो १५ दिनमा हवाई भाडा तीन पटकसम्म वृद्धि भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले फ्युल सरचार्ज बढाउँदै हवाई भाडा समायोजन गरेका हुन्।

वायुसेवा कम्पनीहरूले आधारभूत हवाई भाडा २०७३ सालदेखि नबढेको दाबी गरे पनि इन्धनबापतको शुल्क टिकटमै समावेश हुने भएकाले यात्रुका लागि समग्र हवाई यात्रा महँगो बन्दै गएको छ।

चैत १७ गते आयल निगमले प्रतिलिटर १२४ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य बढाएर २५१ रुपैयाँ पुर्‍याएको थियो। त्यसपछि चैत २७ गते पुनः बढाएर २५७ रुपैयाँ कायम गरिएको थियो। पछिल्लो पटक बिहीबारदेखि लागू हुने गरी इन्धनको मूल्य थप ५ रुपैयाँले वृद्धि गरी २६२ रुपैयाँ प्रतिलिटर पुर्‍याइएको छ।

यससँगै आन्तरिक वायुसेवा कम्पनीहरूले पनि बिहीबारदेखि लागू हुने गरी फ्युल सरचार्ज बढाएका छन्।

नयाँ दरअनुसार अब काठमाडौंबाट सिमरा जान न्यूनतम ३ हजार ४४० रुपैयाँदेखि अधिकतम ५ हजार १९५ रुपैयाँसम्म भाडा लाग्ने भएको छ।

त्यस्तै, आन्तरिक उडानमा टाढाको गन्तव्यमध्ये एक धनगढीका लागि काठमाडौंबाट न्यूनतम १४ हजार ९४४ रुपैयाँदेखि अधिकतम २३ हजार ५४६ रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ।

प्रतिक्रिया