
इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला
काठमाडौं- सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैत ३१ गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको हो ।
इरान–अमेरिका तनावका कारण ती देशमा श्रम स्वीकृति स्थगित गरिएको थियो । पछिल्लो अवस्था मूल्याङ्कनपछि पुनः स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
इराकका हकमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिने उल्लेख गरिएको छ ।
यसअघि श्रम मन्त्रालयले १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी क्षेत्रका साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगित गरेको थियो ।
क्षेत्रीय सुरक्षा चुनौती बढेपछि यस्तो निर्णय गरिएको थियो । इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै आक्रमण थालेपछि त्यहाँ रहेका नेपाली कामदारको सुरक्षामा जोखिम बढेको आकलन गरिएको थियो ।
पछि ३ चैतमा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा बाँकी देशमा पनि पुनः श्रम स्वीकृति खुला गरिएको हो ।
यद्यपि, नयाँ श्रम स्वीकृतिका विषयमा भने ती देशको अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्रै निर्णय गरिने श्रम मन्त्रालयले जनाएको छ ।




कागजपत्र |
