
पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
काठमाडौं- नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कासँग लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।
यसअघि चैत १४ गते पार्टीको लेटरहेड दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकले उनलाई एकपटकका लागि सचेत गराएको थियो ।
त्यसपछि पुनः चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टी जिम्मेवारीमै रहेको दाबी गरेका थिए । साथै, उनले सोही हैसियतमा प्रेस विज्ञप्ति पनि जारी गरेका थिए ।
उक्त कार्य पार्टीको विधानविपरीत भएको निष्कर्ष निकाल्दै कांग्रेसले विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ ।



कागजपत्र |
