देश पछाडि धकेलिँदै गएको भन्दै पूर्वराजा शाहको चिन्ता


काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो सहभागिता उत्साहजनक रहेको बताएका छन्। देश र समाजलाई प्रगति पथमा अघि बढाउन शिक्षित, देशबारे सचेत तथा आधुनिक प्रविधिमा दक्ष युवाहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।

नयाँ वर्ष २०८३ को अवसरमा सोमबार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै उनले विगतका कमजोरी र त्रुटिहरू सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

पूर्वराजा शाहले पछिल्ला केही वर्षमा देश अपेक्षित विकासभन्दा पछाडि धकेलिँदै गएको टिप्पणी गर्दै राजनीतिक तथा प्रशासनिक प्रणालीमा भएका परिवर्तनहरू सतही मात्र देखिएको बताएका छन्। दलीय राजनीतिक खिचातानीका कारण राष्ट्रको समृद्धि ओझेलमा परेको र देश प्रयोगशालाजस्तो बनेको उनको भनाइ छ।

उनले देशको वर्तमान आर्थिक अवस्थालाई सुधार गर्दै छिमेकी राष्ट्र तथा अन्य मित्र राष्ट्रहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

साथै, आन्तरिक सुरक्षा व्यवस्था कमजोर हुँदा नागरिकले असुरक्षा र अभावको सामना गर्नुपरेको उल्लेख गर्दै सुरक्षा निकाय र सेवा प्रवाहलाई चुस्त बनाउन राज्यको गम्भीर ध्यान जानुपर्ने बताएका छन्।

पूर्वराजा शाहले परनिर्भरता अन्त्य गरी आत्मनिर्भरता र स्वाधीनतामा जोड दिनुपर्ने उल्लेख गर्दै स्रोत–साधनको सही उपयोग, संस्कृति र मौलिक पहिचानको संरक्षणमार्फत राष्ट्रको गौरव बढाउन सकिने धारणा व्यक्त गरेका छन्।

निषेध, विभाजन र द्वन्द्वले मुलुक कमजोर बनाउने भन्दै उनले आपसी रिसराग त्यागेर संवाद, सहमति र सहकार्यबाट संवैधानिक समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्।

अन्त्यमा, उनले नेपाललाई शान्ति र प्रगतिको देशका रूपमा देख्ने आफ्नो इच्छा व्यक्त गर्दै सबै नेपालीले न्याय, शान्ति र सुख पाउने अपेक्षा गरेका छन्।

प्रतिक्रिया