
सदस्यता खारेजीको हल्ला भ्रामक भन्दै कांग्रेस नेतृत्वको स्पष्टोक्ति
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान मात्र सञ्चालन गरिएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत उनीहरूले पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदैछ’ भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य तथा भ्रामक प्रचारको संज्ञा दिएका छन्। पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक (अपडेट) प्रक्रिया अघि बढाएको उनीहरूको भनाइ छ।
महामन्त्रीद्वयका अनुसार यस अभियानले पार्टी संगठनलाई तल्लो तहसम्म अझ मजबुत बनाउने विश्वास गरिएको छ। उनीहरूले नवीकरण तथा अद्यावधिक प्रक्रियाले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र आन्तरिक एकता थप सुदृढ गर्ने बताएका छन्।
उनीहरूले विगतका अनुभवबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधारलाई जोड दिइएको पनि उल्लेख गरेका छन्।
साथै, महामन्त्रीद्वयले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै आफ्नो सदस्यता अद्यावधिक गर्न तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।



कागजपत्र |
