
हर्मुज विवाद चर्कियो: अमेरिकाद्वारा इरानी जहाजमाथि कडा निगरानी
काठमाडाैं- इस्लामावादमा सम्पन्न अमेरिका–इरानबीचको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेपछि दुबै देशबीचको तनाव झनै चुलिएको छ। वार्ता विफल भएसँगै अमेरिकाले इरानमाथि समुद्री नाकाबन्दी गर्ने घोषणा गरेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार यो निर्णय सोमबारदेखि लागू हुनेछ। यसअन्तर्गत इरानका बन्दरगाहतर्फ जाने तथा त्यहाँबाट फर्किने सबै जहाजहरू अमेरिकी निगरानीमा रहने जनाइएको छ।
यद्यपि, हर्मुज जलडमरू हुँदै अन्य देशतर्फ गइरहेका जहाजहरूलाई भने अवरोध नगर्ने स्पष्ट पारिएको छ। तर इरानका पोर्टमा आवतजावत गर्ने जहाजहरूमा अमेरिकी नौसेनाले कडा निगरानी र नियन्त्रण कायम गर्नेछ।
हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने इरानको प्रस्तावमा सहमति नजुटेपछि अमेरिका यस्तो कडा कदम चाल्न पुगेको हो। वार्ताका क्रममा इरानको आणविक कार्यक्रम र क्षेत्रीय सशस्त्र समूहहरूलाई दिएको समर्थनजस्ता संवेदनशील विषयमा समेत दुबै पक्षबीच मतभेद कायम रह्यो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शुल्क तिर्ने जहाजहरूलाई रोक्ने चेतावनी दिएका छन्। त्यसको प्रत्युत्तरमा इरानले अमेरिकी सैन्य गतिविधिलाई कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
यस बढ्दो तनावको असर अन्तर्राष्ट्रिय बजारमा देखिन थालेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ भने एसियाली शेयर बजारमा गिरावट आएको छ।



कागजपत्र |
