
विमानस्थल सेवा सुधार्न २४ घण्टे अल्टिमेटम
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलहरूको सेवा गुणस्तर सुधार गर्न कडा निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री पूर्वाधारमा २४ घण्टाभित्र आवश्यक सुधारका कामहरू कार्यान्वयन गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार विभिन्न विमानस्थलबाट यात्रुहरूले दिएका गुनासा तथा सुझावका आधारमा सेवा प्रवाह, सरसफाइ र पूर्वाधार सुधार अत्यावश्यक देखिएको छ।
निर्देशनअनुसार विमानस्थलहरूमा स्तनपान तथा शिशु हेरचाह कक्षलाई सफा, सुरक्षित र गोपनीयता सुनिश्चित हुने गरी सञ्चालन वा स्तरोन्नति गर्न भनिएको छ। साथै, बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
महिला यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन मन्त्रालयले प्राधिकरणलाई भनेको छ।
त्यस्तै, सरसफाइलाई व्यवस्थित बनाउन दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्न, विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका मापदण्ड पालना गर्न तथा नियमित अनुगमन र अभिलेखीकरण सुनिश्चित गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।




कागजपत्र |
