सम्पत्ति प्रकरणमा हाम्रोबारे भ्रामक प्रचार भइरहेको छ : देउवा


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषयमा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नो परिवारबारे भ्रामक र झुटा प्रचार भइरहेको बताएका छन्।

देउवाले आफूले सार्वजनिक पदमा रहँदा नेपालको कानुनअनुसार आफ्नो सम्पत्तिको वास्तविक विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिसकेको जानकारी दिएका छन्। उनले आफ्नो जीवनलाई “खुला पुस्तक” जस्तै पारदर्शी रहेको दाबी गर्दै लोकतन्त्र, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा जीवनभर संघर्ष गरेको उल्लेख गरेका छन्।

उनले भ्रष्टाचारविरुद्धको कानुनी संरचना बनाउन आफूले महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गराएका छन्। उनका अनुसार २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गर्न आफैले पहल गरेका थिए।

देउवाले हाल आफू र उनकी पत्नी स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचारको क्रम जारी रहेको जानकारी दिएका छन्। साथै उनले समयसँगै वास्तविकता स्पष्ट हुँदै जाने भन्दै सार्वजनिक भएका अतिरञ्जित विवरणबाट भ्रमित नहुन सबैलाई आग्रह गरेका छन्।

 

 

 

प्रतिक्रिया