
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ सकियो
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सम्पन्न भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सोमबार रिटमाथिको सुनुवाइ सकिएको हो। उक्त मुद्दामा आजै फैसला आउने अपेक्षा गरिएको छ।
यसअघि आइतबार दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सम्पन्न गरेका थिए। सोमबार भने महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलहरूले बहस गरेका थिए।
जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार दुवै नेतालाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। त्यसपछि रमेश लेखकका तर्फबाट यशोदा लेखक र केपी शर्मा ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनका सम्बन्धमा आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।



कागजपत्र |
