प्रहरी अस्पतालमा आईयूआई–आईभीएफ सेवा सुरु


काठमाडौं- महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालले आफ्नो ४२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अस्पतालको समग्र प्रगति, सेवा विस्तार तथा आगामी योजनाबारे चर्चा गर्दै विद्यमान चुनौती समाधानका लागि आवश्यक निर्देशन दिएका थिए। उनले सेवाग्राहीमैत्री, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल अझ सक्रिय हुनुपर्नेमा जोड दिए।

सोही अवसरमा अस्पताल परिसरमा नवनिर्मित आईयूआई तथा आईभीएफ सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। साथै स्वास्थ्य सेवाको स्तरोन्नति र प्रविधि विस्तारका विभिन्न पहलहरू अघि बढाइएको जानकारी दिइएको छ।

कार्यक्रमकै क्रममा मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई अत्याधुनिक उपकरण हस्तान्तरण गरिएको थियो भने अस्पतालको वार्षिक स्मारिका ‘अस्पताल दर्पण–२०८२’ लोकार्पण गरिएको छ।

यस अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कार तथा कदरपत्र प्रदान गरिएको थियो। साथै अस्पताललाई सहयोग पुर्‍याउने चिकित्सक तथा समाजसेवीहरूलाई पनि सम्मान गरिएको छ।

यस वर्ष ‘सर्वोत्कृष्ट विभाग’ को उपाधि पोषण विभागले प्राप्त गरेको छ। पोषणविद् भुपाल बानियाँका अनुसार अस्पतालले पोषण क्षेत्रमा नवीन काम गर्दै नेपालमै पहिलोपटक डाइटसम्बन्धी सफ्टवेयर प्रयोगमा ल्याएको र प्रभावकारी सेवा प्रवाह गरेको कारण उक्त विभागलाई सम्मान गरिएको हो।

प्रतिक्रिया