
होस्टलमा बालक मृत्यु प्रकरण: सञ्चालकसहित दुई जना पक्राउ
सप्तरी- सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको शंकास्पद मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल रहेका छन्। चौधरी स्कुलका सञ्चालक हुन् भने मण्डल पालेका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। दुवै जनालाई आत्महत्या दुरुत्साहनको कसुरमा नियन्त्रणमा लिई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए।
खडक–९ लालपट्टीका धर्मेन्द्रकुमार साह विगत ७ वर्षदेखि होस्टलमा बस्दै आएका थिए। उनी ७ चैत शनिबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका थिए। घटनापछि स्कुलका सञ्चालक चौधरी, उनकी श्रीमती शोभा र पाले मण्डलले उनलाई अस्पताल पुर्याएपछि मात्र परिवार र प्रहरीलाई जानकारी गराएको बताइएको छ।
मृतककी आमा ममता साहले छोरालाई स्कुलकी सञ्चालककी श्रीमती शोभासहितले कुटपिट गरेको, घटनाबारे ढिलो जानकारी दिएको तथा घटनास्थलको सीसीटीभी बन्द रहेको भन्दै घटनालाई शंकास्पद भएको दाबी गर्दै आएकी छन्।
हालसम्म सञ्चालककी श्रीमती शोभालाई नियन्त्रणमा लिइएको छैन भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
