२३ मात्रै होइन, २४ गतेको घटना पनि छानबिन गरियोस्: आङ्देम्बे


काठमाडौं-  नेपाली कांग्रेसका नेता एवं सांसद भीष्मराज आङ्देम्बेले जेन–जी आन्दोलनबाट उठेका परिवर्तनका मुद्दालाई आत्मसात गर्न कांग्रेस तयार रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले कांग्रेसले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व गर्दै आएको स्मरण गराउँदै उक्त आन्दोलनका मागलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

आङ्देम्बेले भदौ २३ र २४ गते सिंहदरबारमा भएका घटनाको समग्र अध्ययन आवश्यक रहेको बताए । “कसैले २३ गतेको घटना मात्रै देख्ने र २४ गतेको नदेख्ने प्रवृत्ति गलत हो,” उनले भने । उनले जाँचबुझ आयोगले २३ गतेको घटनामात्र अध्ययन गरेको भन्दै २४ गतेको घटनालाई किन समेटिएन भन्ने प्रश्न उठाए ।

आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा पनि उनले सरकारको भूमिकामाथि प्रश्न उठाए । “सरकारले प्रतिवेदन आफैं सार्वजनिक गर्ने हो कि गोरखापत्र पढेर बुझ्ने हो ?” भन्दै उनले स्पष्टता माग गरे ।

त्यस्तै, उनले सरकारलाई कानुनसम्मत ढंगबाट अघि बढ्न आग्रह गरे । दोषी उम्कन नपाउने र निर्दोष फस्न नहुने कांग्रेसको मूल मान्यता रहेको उल्लेख गर्दै उनले अनुसन्धान प्रक्रिया निष्पक्ष र विधिसम्मत हुनुपर्नेमा जोड दिए ।

आङ्देम्बेले जेन–जी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदनमाथि समेत शंका व्यक्त गर्दै सरकारलाई सोचविचारपूर्वक कानुनी प्रक्रियाको मर्यादा कायम राख्दै अघि बढ्न आग्रह गरे । साथै, जिम्मेवार प्रतिपक्षीका रूपमा कांग्रेस परिवर्तनलाई समर्थन गर्दै आवश्यक खबरदारी पनि गर्ने उनले बताए ।

प्रतिक्रिया