सुर्खेतकी इनिशा बिकको २७ दिनपछि दाहसंस्कार हुँदै


सुर्खेत-  सुर्खेतकी १६ वर्षीया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएकी इनिशाको २७ दिनपछि अन्त्येष्टि गर्न लागिएको हो ।

परिवारले सुरुवातमा सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै शव नबुझ्ने अडान लिएको थियो । तर घटनामा संलग्न आरोपितहरू पक्राउ परेपछि र अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि परिवारले शव बुझ्ने निर्णय गरेको हो ।

परिवारका अनुसार इनिशाको दाहसंस्कार भेरी नदीस्थित सम्झिघाटमा गरिनेछ । घटनाबारे प्रहरीले करिब दुई साता लामो अनुसन्धानपछि गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । मंगलबार भएको थुनछेक बहसपछि अदालतले घटनामा संलग्न भनिएका चारै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले प्रारम्भिक प्रमाण र घटनाको गम्भीरतालाई आधार मानेर अनुसन्धान पूरा नहुँदासम्म थुनामै राख्ने आदेश दिएको हो । अदालतको आदेशअनुसार आरोपितहरूलाई बालसुधार गृहमा पठाइने भएको छ ।

मुद्दा सोमबारदेखि बाल इजलासमा सुनुवाइ भइरहेको थियो भने मंगलबारको थुनछेक बहसपछि यस्तो आदेश आएको हो । इनिशाको मृत्युपछि वीरेन्द्रनगरमा विभिन्न पक्षले प्रदर्शन गर्दै आएका थिए ।

प्रतिक्रिया