
सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या प्रधानमन्त्री कार्यालयमा तत्काल जानकारी गराउनसक्ने
काठमाडौं – प्रतिनिधिसभाका सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गरिने भएको छ ।
बुधबार सिंहदरबारमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो प्रदेशको ह्वाट्सएप ग्रुपमार्फत सांसदहरूले निर्वाचन क्षेत्रको समस्या तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।
निर्वाचन क्षेत्रमा देखिएका समस्याका बारेमा सांसदहरूले सहज रूपमा सरकारलाई जानकारी गराउन यस्तो व्यवस्था हुन लागेको छलफलपछि रास्वपाका सांसद मनिष झाले जानकारी दिए ।
छलफलका क्रममा मधेस प्रदेशबाट निर्वाचित सांसदहरूले आफ्नो क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।
त्यसैगरी सांसदहरूले मधेस प्रदेशमा सेवा प्रवाहरुलाई नागरिकमैत्री बनाउन समेत आग्रह गरेका थिए ।
प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रका समस्याका बारेमा सांसदहरूसँग प्रदेश–प्रदेश समूह बनाएर छलफल गरिरहेका छन् ।



कागजपत्र |
