
दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्दै महानगर
काठमाडौं – काठमाडौं उपत्यकामा अब भने दुई पाङ्ग्रे एम्बुलेन्ससमेत सञ्चालनमा आउने भएको छ । हालसम्म काठमाडौंमा चार पाङ्ग्रे एम्बुलेन्स सेवा मात्रै सञ्चालनमा रहेको छ ।
अत्यधिक सवारी चाप र साँघुरा गल्लीका कारण एम्बुलेन्स समयमै नपुग्ने समस्या समाधान गर्न काठमाडौँ महानगरपालिकाले यस्तो नयाँ अवधारणा अघि बढाएको हो।
बुधबार काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारीबीच भएको छलफलमा महानगरकी निमित्त प्रमुख सुनिता डंगोलले मोटरसाइकल एम्बुलेन्स सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी हुन्।
उनले भीडभाडयुक्त क्षेत्र तथा आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा आवश्यक पर्ने बिरामीसम्म छिटो चिकित्सक र स्वास्थ्यकर्मी पुर्याउन दुई पाङ्ग्रे एम्बुलेन्स प्रभावकारी हुने बताइन्।
उनले भनिन्–‘पुराना संरचना र साँघुरा गल्लीका कारण चार पाङ्ग्रे एम्बुलेन्स सबै ठाउँमा पुग्न सक्दैनन्, त्यसमाथि सवारी चापले थप समस्या सिर्जना गर्छ । त्यसैले यस्तो अवस्थामा मोटरसाइकल एम्बुलेन्समार्फत चिकित्सकलाई तुरुन्तै घटनास्थलमा पुर्याउने संयन्त्र विकास गर्न आवश्यक छ।’
डंगोलले यो सेवालाई ‘प्रि–हस्पिटल मेडिकल सर्भिस’ का रूपमा अघि बढाइने स्पष्ट पारिन्। साथै, बिरामीले बोलाएको एम्बुलेन्स कहाँ पुग्यो, एम्बुलेन्समा को–को छन् भन्ने जानकारी आफन्तले सहजै थाहा पाउने प्रणाली विकास गर्न नेपाल एम्बुलेन्स सेवालाई निर्देशन दिएकी छन्।



कागजपत्र |
