अमेरिकाको युद्धविराम प्रस्ताव इरानद्वारा अस्वीकार, राख्यो यस्ता ५ शर्त


काठमाडौं – अमेरिकाको युद्धविराम प्रस्ताव इरानले अस्वीकार गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तहरूमा युद्ध अन्त्य नगर्ने इरानले स्पष्ट पारेको छ।

अमेरिकाले मध्यस्थकर्ता राष्ट्रहरूमार्फत पठाएको प्रस्ताव धरातलीय अवस्थाभन्दा टाढा रहेको भन्दै इरानले युद्ध अन्त्यका लागि आफ्ना पाँच प्रमुख सर्तहरू अघि सारेको छ।

इरानका पाँच सर्तहरूमा इरानविरुद्ध भइरहेका सबै सैन्य हमला र विशिष्ट व्यक्तिहरूको हत्या तुरुन्त बन्द हुनुपर्ने, भविष्यमा फेरि कहिल्यै युद्ध नहुने गरी अन्तर्राष्ट्रिय रूपमा भरपर्दो र ठोस सुनिश्चितता हुनुपर्ने उल्लेख छ। त्यस्तै, यस युद्धमा भएको सम्पूर्ण भौतिक र मानवीय क्षतिको उचित मुआब्जा पाउनुपर्ने, सबै मोर्चाहरूमा भइरहेको युद्ध पूर्णरूपमा अन्त्य हुनुपर्ने र होर्मुज जलमार्गमा इरानको अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने रहेको छ।

इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म जवाफी कारबाही जारी राख्ने चेतावनी पनि दिएको छ। यसअघि अमेरिकाले इरानसँग युद्धविराम लागि १५ बुँदे योजना प्रस्तुत गरेको थियो।

‘न्युयोर्क टाइम्स’काअनुसार, प्रस्तावमा इरानको ब्यालिस्टिक मिसाइल, परमाणु कार्यक्रम र हर्मोज जलसन्धिको सुरक्षा जस्ता गम्भीर मुद्दाहरू समावेश छन्। अमेरिकाले राखेका सर्तहरुमा परमाणु कार्यक्रममा पूर्ण रोक लगाउने र भविष्यमा कहिल्यै परमाणु हतियार विकसित नगर्ने ग्यारेन्टी दिने। युरेनियम संवर्धनलाई सीमित वा पूर्णरूपमा बन्द गर्ने र हालसम्मको मौज्दात अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई सुम्पने।

त्यसैगरी, ब्यालिस्टिक र क्रुज मिसाइल कार्यक्रममा कडा नियन्त्रण वा कटौती गर्ने। हर्मोज जलसन्धिलाई पूर्ण रूपमा खुला गर्ने र विश्वव्यापी ढुवानीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने तथा अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई इरानका सबै परमाणु केन्द्रहरूसम्म पूर्ण र बिनासर्त पहुँच प्रदान गर्ने।

छैठौं प्रस्तावमा नतान्ज, फोर्डो र इस्फहान जस्ता प्रमुख परमाणु केन्द्रहरूलाई सीमित गर्ने वा पूर्ण रूपमा बन्द गर्ने। सशस्त्र समूहहरु हिजबुल्लाह र अन्य सहयोगी समूहहरूलाई दिइँदै आएको समर्थन कम वा पूर्ण रूपमा बन्द गर्ने रहेको छ।

साथै, क्षेत्रमा भइरहेका सैन्य गतिविधि र हमलाहरूलाई कम गरी तनाव घटाउने र निश्चित समयका लागि युद्धविराम गरी वार्तालाई अगाडि बढाउनुपर्ने रहेका छन्। यसैगरी, भविष्यमा पुनः युद्ध नहोस् भन्नका लागि ठोस अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नेसमेत प्रस्तावमा उल्लेख छ।

समुद्री र ऊर्जा पूर्वाधारहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्ने तथा इरानको मिसाइलको मारक क्षमता र यसको प्रयोगलाई केबल ‘आत्मरक्षा’सम्ममात्र सीमित गर्नुपर्ने लगायत सर्तहरु पूरा भएमा बलदामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरु पूर्ण वा चरणबद्धरुपमा हटाउने प्रस्ताव गरिएको छ।

अमेरिकी प्रस्तावमा नागरिक परमाणु कार्यक्रम र ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्रदान गर्ने तथा मध्यपूर्वमा स्थिरता र शान्तिका लागि दीर्घकालीन मार्गचित्र लागू गरिनेसमेत जिकिर गरिएको छ।

 

प्रतिक्रिया