
सडक खन्ने क्रममा पहिरो खस्दा एक्साभेटर चालक पुरिए
लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ भाचेमा सडक फराकिलो बनाउने क्रममा पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएर मृत्यु भएको छ।
बुधबार बिहान खुदी–घनपोखरा–नाँयु सडकखण्डमा ढुङ्गा फुटाउँदै सडक विस्तार गर्ने क्रममा चट्टानसहितको पहरा खसेपछि चालक एक्साभेटरसँगै पुरिएका हुन्। वडाध्यक्ष चेतबहादुर गुरुङका अनुसार ढुङ्गा फुटाउने क्रममा अचानक पहरा खस्दा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले पनि सडक विस्तारकै क्रममा पहिरो खसेर चालक च्यापिएको पुष्टि गरेका छन्।
पहिरोमा पुरिएका करिब ३०–३२ वर्ष उमेरका युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। यद्यपि मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन। घटनास्थलमा रहेको सानो मेसिनले उद्धार गर्न नसकेपछि ठूलो एक्साभेटर पठाएर शव निकालिएको प्रहरीले जनाएको छ।
निर्माण कम्पनीका प्रतिनिधि पोखराबाट आएपछि मात्रै मृतकको पहिचान खुल्ने प्रहरीको भनाइ छ।



कागजपत्र |
