
कैलालीमा सशस्त्रकाे गुल्ममै हमला: डीएसपीमाथि हातपात, ३१ प्रहरी तानिए
कैलाली – खक्रौला भन्सार क्षेत्र नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्ममै भीड पसेर डीएसपीसहितका सुरक्षाकर्मीमाथि हातपात गरिएको छ।
घटनामा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथि कुटपिट गरिएको हो। स्थानीय व्यापारी र सर्वसाधारणले डीएसपी पालले ज्यादती गरेको आरोप लगाउँदै गुल्मभित्रै छिरेर आक्रमण गरेको बताइएको छ।
स्थानीयका अनुसार भारतबाट ल्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि विवाद सुरु भएको थियो। सो विषयमा टीकापुर उद्योग वाणिज्य संघका प्रतिनिधिसमेत सहभागी भएर गुल्ममा छलफल भइरहेको थियो। तर छलफल सकिएलगत्तै केही स्थानीय युवा आक्रोशित बन्दै गुल्ममै पसेर हातपातमा उत्रिएका हुन्।
घटनापछि सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठेपछि कडा कदम चालिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणले डीएसपी पालबाहेक गुल्ममा कार्यरत ३१ जना सशस्त्र प्रहरीलाई जिल्ला तान्ने निर्णय गरेको छ।
डीएसपीमाथि हातपात हुँदा समेत स्थिति नियन्त्रण गर्न नसकेको भन्दै उनीहरूलाई फिर्ता बोलाइएको जनाइएको छ। अब उक्त स्थानमा नयाँ टोली खटाइने तयारी गरिएको छ।



कागजपत्र |
