
कञ्चनपुर विवाहको १४ दिनमै युवती मृत फेला, श्रीमानमाथि शंका
कञ्चनपुर – विवाह भएको दुई सातामै कञ्चनपुरमा एक नवविवाहिता मृत फेला परेकी छन्। शुक्लाफाँटा नगरपालिका–७, कालापानीकी २२ वर्षीया विन्दु धामी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
विन्दुको मागीविवाह १४ फागुन २०८२ मा कृष्णपुर नगरपालिका–७, मटैयाकटानका २९ वर्षीय भीम धामीसँग सम्पन्न भएको थियो। विवाहको १४ दिनपछि, अर्थात् २७ फागुनमा उनी मृत फेला परेकी हुन्।
मृतककी हजुरआमा तारा धामीले घटनालाई शंकास्पद ठहराउँदै सत्यतथ्य छानबिन गर्न माग गरेकी छिन्। उनले भनिन्, “विवाह मागी नै भएको हो, हामीले धुमधामका साथ विवाह गरिदियौँ। घटनाको पूर्ण छानबिन हुनुपर्छ; दोषीले उन्मुक्ति पाउनु हुँदैन र निर्दोष फस्नु पनि हुँदैन।”
विन्दु कक्षा १२ अध्ययनरत थिइन् र ब्युटी पार्लरको तालिम पनि लिइरहेकी थिइन्। माइती पक्षले विवाह धार्मिक परम्पराअनुसार सम्पन्न भएको बताएका छन्। तर विवाह भएको छोटो समयमा मृत फेला परिनुले श्रीमानमाथि शंका उत्पन्न भएको दाबी उनीहरूले गरेका छन्।
मृतकका हजुरबुबा प्रेमसिंह धामीले भने, “नातिनीको योनीमा रगत देखिएकाले हामीलाई शंका लागेको छ। विवाह झुक्याएर गरिएको जस्तो देखिन्छ।”
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै शवको पोस्टमार्टम भइसकेको र रिपोर्ट आइतबारसम्म आउने अपेक्षा गरिएको बताए।



कागजपत्र |
