
हंसपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं- धनुषाको हंसपुर नगरपालिकामा सडक निर्माण योजनामा अनियमितता भएको ठहर गर्दै विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, इन्जिनियरसहित पाँच जनालाई दोषी ठहर गरेको छ। सोही प्रकरणमा आरोपित नगरपालिकाकी उपप्रमुख रेणुदेवी झासहित चार जनालाई भने अदालतले सफाइ दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको हो। अदालतले इन्जिनियर दिनेश कुमार मण्डल र सब–इन्जिनियर विनोद मण्डलले गलत प्रतिवेदन पेस गरेको ठहर गर्दै जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
त्यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम लोचन मण्डल, लेखापाल नेत्र लुङ्गेली र निर्माण व्यवसायी देव कन्स्ट्रक्सनका प्रोप्राइटर शुभचन्द्र मण्डललाई जनही चार महिना कैद सजाय सुनाइएको छ। अदालतले योजनामा बढी भुक्तानी भएको ७ लाख ८१ हजार ८१८ रुपैयाँ तीनै जना राम लोचन मण्डल, नेत्र लुङ्गेली र शुभचन्द्र मण्डलबाट दामाशाहीका आधारमा असुल गर्ने निर्णय गरेको छ।
साथै, अपराध पीडित संरक्षण ऐनअनुसार उनीहरूले तिर्नुपर्ने जरिवानामा थप ४ प्रतिशत रकम क्षतिपूर्ति शुल्कका रूपमा बुझाउनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ।
यही प्रकरणमा आरोपित नगरपालिकाकी उपप्रमुख रेणुदेवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, प्रशासन शाखा प्रमुख ज्ञानकुमार झा र खरिदार शत्रुघ्न शाहलाई भने अदालतले सफाइ दिएको छ। उनीहरूको हकमा बदनियत पुष्टि हुने वस्तुनिष्ठ प्रमाण फेला नपरेको अदालतको ठहर छ।
फैसलामा सम्झौताको म्याद सकिएपछि पनि कार्यसम्पादन जमानतको अवधि सुनिश्चित नगरी म्याद थप गरिएको र नापी किताबमा उल्लेख भएको भन्दा बढी रकम भुक्तानी दिइँदा राज्यलाई नोक्सानी पुगेको उल्लेख गरिएको छ।
हंसपुर नगरपालिकाको सुगा निकासदेखि कट्टीसम्मको सडकमा पिसिसी ढलान निर्माणका लागि नगरपालिका र देव कन्स्ट्रक्सनबीच २०७७ असार १७ गते सम्झौता भएको थियो। उक्त योजनामा वास्तविक रूपमा सम्पन्न कामभन्दा बढीको नापी मूल्याङ्कन गरी ७ लाख ८१ हजार ८१८ रुपैयाँ बढी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।



कागजपत्र |
