२४ घण्टामा चार सवारी दुर्घटना, तीन जिल्लामा चार जनाको मृत्यु


काठमाडौं –  पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ। पर्सा, धनुषा र सुर्खेतमा भएका दुर्घटनामा चालकदेखि पैदलयात्रीसम्मको मृत्यु भएको प्रहरीले जनाएको छ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा सोमबार राति भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बीआर ०५ बिएल ०६४५ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा चालक बहुदरमाई नगरपालिका–१ का २३ वर्षीय हरिन्द्र साह तेली गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा कारमा सवार अर्का एक व्यक्ति पनि घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच धनुषामा भएका दुई फरक–फरक ट्याक्टर दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन्। मिथिला नगरपालिका–२ सुकजोर टोलमा ज.१ त ९४०४ नम्बरको ट्याक्टरले किच्दा २० वर्षीय मनिस राउत गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जानकी मेडिकल कलेज लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

धनुषाकै गणेशमान चारनाथ नगरपालिकामा भएको अर्को दुर्घटनामा ट्याक्टरबाट खसेर २७ वर्षीय उपिन्द्र सदाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि ट्याक्टरसहित चालक फरार भएका छन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ।

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। क.प्र. ०२–००१ क ०१३६ नम्बरको टिपर सोमबार राति अनियन्त्रित भई सडकमा पल्टिँदा चालक ३३ वर्षीय रुद्रबहादुर शाही गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको थियो।

उपचारकै क्रममा मंगलबार बिहान शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया