
धनुषा–१ को निर्वाचन विवादमा सर्वोच्चले आयोगलाई बोलायो
काठमाडौं- सर्वोच्च अदालतले धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विवादमा छलफलका लागि निर्वाचन आयोगलाई उपस्थित हुन आदेश दिएको छ।
कालोसूचीमा परेको कारण देखाउँदै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
सोमबार (फागुन २५) उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेपछि अदालतले अन्तरिम आदेशबारे छलफल गर्न आउँदो शुक्रबार निर्वाचन आयोगलाई बोलाएको हो।
शुक्रबार आयोग र रिट निवेदक पक्षबीच छलफल भएपछि उम्मेदवारी र मत कायम गर्ने विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
यसैबीच सर्वोच्च अदालतले आयोगले गरेको निर्णयसँग सम्बन्धित फाइल समेत झिकाउन आदेश दिएको छ।



कागजपत्र |
