
बेंगलुरुमा बालेनलाई पढाएका शिक्षक भन्छन्– हाम्रा लागि गर्वको विषय
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को राजनीतिक उभारसँगै उनको शैक्षिक पृष्ठभूमि पनि चर्चा हुन थालेको छ। भारतको बेंगलुरुस्थित निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएमआईटी) मा अध्ययन गरेका शाह अहिले नेपालको राजनीतिमा तीव्र गतिमा उक्लिँदै भविष्यका सम्भावित प्रधानमन्त्रीका रूपमा समेत चर्चा हुन थालेका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शाहले झापा–५ बाट विजय हासिल गरेका छन्। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै संसद्को तल्लो सदनमा प्रवेश गरेका हुन्। रास्वपाले चुनावमा बहुमत नजिकको सफलता हासिल गरेपछि शाहको राजनीतिक हैसियत थप उचाइमा पुगेको विश्लेषण गरिएको छ।
भारतको बेंगलुरुस्थित एनएमआईटीका प्राध्यापकहरूले पनि आफ्ना पूर्वविद्यार्थीको राजनीतिक उभारप्रति गर्व व्यक्त गरेका छन्। उक्त कलेजमा शाहले सिभिल इन्जिनियरिङअन्तर्गत संरचनात्मक इन्जिनियरिङ (Structural Engineering) मा एम.टेक अध्ययन गरेका थिए।
सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक श्रेयस एभीले शाहलाई अनुशासित र गम्भीर विद्यार्थीका रूपमा सम्झिए। उनका अनुसार शाह सन् २०१६ मा सुनील लम्साल र प्रविन श्रेष्ठसँगै उक्त कलेजमा अध्ययन गर्न आएका थिए।
प्राध्यापक श्रेयसका अनुसार शाह पढाइप्रति निकै प्रतिबद्ध थिए। “उनीहरू निकै समयनिष्ठ र अनुशासित विद्यार्थी थिए। बालेन्द्र तीमध्ये सबैभन्दा शान्त स्वभावका थिए,” उनले भने। उनका अनुसार शाह कलेजमा हुँदा आफ्नो र्याप संगीतको पहिचान धेरै देखाउँदैनथे।
प्राध्यापकहरूले शाहले विद्यार्थी जीवनमा खासै राजनीतिक रुचि देखाएको सम्झना नभएको पनि बताएका छन्। बरु उनी शैक्षिक गतिविधिमा निकै सक्रिय र जिज्ञासु विद्यार्थी रहेको उनीहरूको भनाइ छ। “उनीहरू प्रायः विषयबारे धेरै जिज्ञासा राख्थे र साँझसम्म पनि आएर प्रश्न सोधेर स्पष्ट पार्थे,” श्रेयसले भने।
एनएमआईटीका उपाध्यक्ष सन्दीप शास्त्रीले पनि शाहलाई संस्थाको गौरवपूर्ण पूर्वविद्यार्थीका रूपमा उल्लेख गरेका छन्। उनका अनुसार केही वर्षअघि मात्र उक्त कलेजमा अध्ययन गरेका विद्यार्थी भविष्यमा छिमेकी देशको सरकार नेतृत्व गर्ने सम्भावना हुनु संस्थाका लागि ठूलो सम्मानको विषय हो।
शास्त्रीले शाहलाई मेहनती, अनुशासित र जिम्मेवार विद्यार्थीका रूपमा स्मरण गर्दै भने, “उनीले आफ्ना काम समयमै पूरा गर्थे, इन्टर्नसिप पनि राम्रोसँग गरेका थिए। त्यतिबेला कलेजमा धेरै नेपाली विद्यार्थी थिए र उनी अरूका लागि उदाहरणजस्तै थिए।”
कलेजका शिक्षकहरूका अनुसार शाहको शैक्षिक रुचिमध्ये एउटा महत्वपूर्ण क्षेत्र भूकम्प इन्जिनियरिङ थियो। उनले यस विषयसँग सम्बन्धित परियोजनामा काम गरेका थिए र सोही क्षेत्रमा इन्टर्नसिप पनि गरेका थिए। नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्ने सोच उनको रुचिमा झल्किएको शिक्षकहरूको भनाइ छ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका शाहको राजनीतिक यात्रा तीव्र गतिमा अघि बढिरहेको छ। एनएमआईटी प्रशासनले भने भविष्यमा शाह भारत भ्रमणमा आए कलेजमा स्वागत गर्न पाउँदा आफूहरू गौरवान्वित हुने जनाएको छ।



कागजपत्र |
