
जेनजी आन्दोलनमा ‘गोली हान्ने र हान्न लगाउने’ सबैलाई कारबाही गर्न सिफारिस
काठमाडौं- गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’का घटनाबारे छानबिन गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनमा घटनाका जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको आयोगले जनाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको जानकारी दिएका हुन्।
अध्यक्ष कार्कीका अनुसार भदौ २३ गतेको घटनामा संलग्न भई किशोरहरूको मृत्यु हुने परिस्थितिसमेत सिर्जना गर्ने जिम्मेवार व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको छ।
“२३ गतेको घटनामा जो–जो दोषी छन्, जसका कारण हाम्रा किशोरहरूको मृत्यु भयो र उनीहरू सहिद बने, ती सबैलाई कानुनी कारबाही गर्न सिफारिस गरेका छौँ,” उनले भने, “गोली हान्ने, हान्न लगाउने र गोली नरोक्ने सबैलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ।”
तर पत्रकारहरूले ‘कति जनालाई कारबाही सिफारिस गरिएको हो?’ भन्ने प्रश्न गर्दा अध्यक्ष कार्कीले स्पष्ट विवरण खुलाउन चाहेनन्।
त्यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीलाई कारबाही सिफारिस गरिएको हो कि भन्ने प्रश्नमा उनले प्रत्यक्ष जवाफ नदिँदै जिम्मेवार सबै व्यक्तिमाथि कारबाही गर्न सिफारिस गरिएको बताए।
“हामीले जो–जो जिम्मेवार छन्, उनीहरूलाई कारबाही गर्न सिफारिस गरेका छौँ। को–को छन् भन्ने कुरा अब सरकारले सार्वजनिक गर्छ,” उनले भने।
प्रतिवेदन बुझाउन ढिलाइ हुनुमा निर्वाचन परिणामसँग कुनै सम्बन्ध नरहेको पनि उनले स्पष्ट पारे। उनका अनुसार केही काम बाँकी रहेका कारण प्रतिवेदन बुझाउन ढिलाइ भएको हो।
“हाम्रा केही काम नसकिएका कारण ढिलो भएको हो,” उनले भने, “निर्वाचनअघि प्रतिवेदन सार्वजनिक गर्दा त्यसले चुनावमा असर पार्न सक्छ भन्ने कुरा पनि उठेको थियो।”



कागजपत्र |
