पराजित भएपछि शेखर कोइराला भन्छन् – युवाले नेतृत्व सम्हाल्नु सकारात्मक संकेत हो


काठमाडौं- मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की  युवा उम्मेदवार रुविना आचार्यसँग पराजित भएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरू देशको परिवर्तनका मुख्य वाहक भएको बताएका छन्।

२१ फागुनमा सम्पन्न निर्वाचनमा डा. कोइराला ४२ हजार ६६३ मतान्तरले आचार्यसँग पराजित भएका थिए। पराजयपछि विज्ञप्ति जारी गर्दै उनले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै सक्षम र योग्य युवाहरूको विजय सकारात्मक संकेत भएको बताए।

उनले भने, “युवाहरू जो यो राष्ट्रको परिवर्तनका वाहक हुन्, उनीहरू भावी संसदमा नीति निर्माणमा पुगेको देख्नु खुशीको विषय हो।”

डा. कोइरालाले लोकतान्त्रिक आन्दोलन र संघर्षको लामो इतिहास बोकेको मोरङ–६ बाट अत्यधिक मतसहित विजयी भएकी रुविना आचार्यलाई बधाई दिँदै उनको कार्यकालमा क्षेत्रको सेवा, सुधार र समृद्धिका काममा आफ्नो साथ र समर्थन रहने उल्लेख गरेका छन्।

उनका अनुसार लोकतान्त्रिक निर्वाचन केवल जित–हारको विषय मात्र नभई एउटा संस्कार र राजनीतिक संस्कृतिको विकास गर्ने प्रक्रिया पनि हो। उनले राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताको संरक्षण लोकतान्त्रिक प्रणालीबाट जनताको विश्वास जितेको सरकारले मात्र गर्न सक्ने बताएका छन्।

निर्वाचनमा मत प्रयोग गरी विश्वास देखाएकोमा मतदाताप्रति उनले आभार व्यक्त गरेका छन्। पराजय भए पनि मोरङ–६ का जनतासँगको सम्बन्ध र आत्मीयता कहिल्यै नटुट्ने उनले बताएका छन्।

प्रतिक्रिया