प्रचण्ड राजनीतिः ‘पत्नी छाडेर जेठी सासुसँग प्रेम!’


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेललाई जिम्मा लगाउँदै सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि परेको पीरलाई विभिन्न बिम्बमा पोख्ने गरेका छन्।

‘दुई जनाको बिहे भयो, बच्चा जन्मियो। अब अदालतलेचाहिँ बच्चा पनि गर्भभित्रै छिराइदियो, यो बिडम्बनापूर्ण फैसला आयो’, नेकपा विभाजनपछिका विभिन्न मञ्चमा प्रचण्डले भनेका थिए,‘यो अनैतिक, अप्राकृतिक फैसला भयो।’

प्रचण्डले हालै मात्र पनि नेकपा विभाजनको सन्दर्भलाई लिएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग घृणापूर्ण सम्बन्ध रहे पनि नेता माधवकुमार नेपालसँग गहिरो प्रेम रहेको बताएका थिए। ‘हाम्रो त लभ परेको थियो। लभ पनि छँदै छ। माधवजीहरूसँग लभ भए पनि अदालतले डिभोर्स गरायो।’

प्रचण्डले यी सबै पीडालाई अभिव्यक्त गर्ने क्रममा ओलीप्रतिको आक्रोश पनि पोख्ने गरेका थिए। उनले नेकपा रहँदा ओलीविरुद्ध ल्याएको १९ बुँदे राजनीतिक प्रतिवेदनलाई क्षेप्यास्त्र पनि भन्न भ्याए।

बुर्जुवा हेडक्वार्टरमाथि बम्बार्ड गरेको भनी प्रचण्डले व्याख्या गर्दै आएका छन्।

उक्त १९ बुँदे प्रस्ताव फिर्ता लिए पार्टी एकता जोगिने प्रस्ताव लिएर खुमलटारमा ओली पुगेका थिए। ओली पक्षका नेताले पनि सबै समस्याको जड प्रचण्डको ‘आरोपपत्र’ भएको बताए।

तर प्रचण्डलाई उक्त १९ बुँदे ल्याउनका निम्ति माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतमको साथ थियो।

अहिले प्रचण्ड–नेपालको सम्बन्धलाई कतिपयले ‘पत्नी छाडेर जेठी सासुसँग प्रेम’ गरेको टिप्पणी गर्छन्। ‘प्रचण्डजीकै भाषामा भन्ने हो भने त्यो एकता नेपाललगायतसँगको सहमतिमा गरिएको थियो कि अध्यक्ष ओलीसँगको सहमतिमा भएको थियो? त्यो पृष्ठभूमी नहेरी बोल्ने?’, एक नेता भन्छन्,‘बिहे एउटासँग निधो गर्ने, सम्बन्ध पनि बनाउने, सहमति पनि गर्ने अनि उसको घरमा आएर मेरो मन त जेठी सासुसँग मिल्छ भनेर घर निकालाको निर्णय गर्ने? यो अनैतिक हुन्छ की हुँदैन?’

३ जेठ, ०७५ को अवस्थामा दुई दल पुगेका छन्। त्यसअघिको चुनावी तालमेल र एकीकरणका लागि ओलीको पहलकदमीले मात्र काम गरेको बालुवाटारनिकट नेता बताउँछन्।

‘एकीकरणका लागि नेपालहरू तयार थिए? थिए भने आफूले नेतृत्व गर्दाका बेला किन गरेनन्, किन सम्भव भएन? ओलीको अग्रसरतामा एकीकरण भएको थियो। तर प्रचण्डले त्यसलाई प्रयोग गर्न खोजे’, ति नेताले भन्छन्,‘अहिले अदालतले राजनीतिलाई नयाँ मोडमा पुराएको होइन र?’

त्यसो त पार्टी एकीकरण पश्चात भएका विभिन्न खेलबारे ओली पनि कडा र आक्रोशित मुद्रामा प्रस्तुत हुने गरेका छन्। उनले प्रचण्डलाई कहिले तिल्के त कहिले किर्नाको बिम्बमा ब्यंग्य गर्दै आएका छन्। ‘किर्नाले भैंसी कति खान्छ, खान्छ खान्छ पुटुक्क भएपछि खुत्रुक्क झर्छ’, सोमबार मात्र एउटा कार्यक्रम सम्बोधनका क्रममा ओलीले भनेका थिए,‘प्रचण्डको एक सीट पनि आउँदैन, त्यसबेला त हामीले जिताएका थियौं र अहिले सांसद पदबाट कारबाहीको घोषणा गर्छन्। अब?’

प्रतिक्रिया