
दोलखामा लुटिएका ५४ मध्ये ४५ मतपत्र फेला
दोलखा – दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर माध्यमिक विद्यालयको मतदानस्थलबाट लुटिएका मतपत्रमध्ये ४५ वटा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाका अनुसार उक्त मतदानस्थलबाट कुल ५४ वटा मतपत्र लुटिएका थिए। तीमध्ये ४५ वटा मतपत्र फेला परिसकेका छन् भने अझै ९ वटा मतपत्रको खोजी कार्य जारी रहेको छ।
मतपत्र लुटिएको घटनापछि उक्त मतदानस्थलमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन। घटनाका क्रममा मतदानस्थलमा खटिएका कर्मचारीमाथि हातपात भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर समेत गरेको थियो।
दोलखाका अन्य मतदान केन्द्रहरूमा भने मतदान प्रक्रिया नियमित रूपमा जारी रहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म जिल्लामा ४१.८९ प्रतिशत मतदान भइसकेको छ।



कागजपत्र |
