
चुनावमा स्वस्थ प्रतिस्पर्धा होस्, वैमनस्य होइन : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मतदानलाई देश र सन्तानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णयका रूपमा व्याख्या गरेकी छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाएर कसैलाई जिताउनु मात्र नभई देशको आगामी दिशा तय गर्नु भएको बताइन्।
उनले नेपाल फेरि एकपटक इतिहासको संवेदनशील मोडमा उभिएको उल्लेख गर्दै आउँदो फागुन २१ गते हुने निर्वाचनले देशको भविष्यको मार्गचित्र कोर्ने बताइन्। होली पर्व र निर्वाचन दुवै नेपालीका लागि अर्थपूर्ण अवसर भएको उल्लेख गर्दै उनले उत्सव र लोकतान्त्रिक अभ्यासलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरिन्।
‘जेन–जी आन्दोलन’ पछिको जटिल अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ लैजान सफल भएको दाबी गर्दै प्रधानमन्त्री कार्कीले संविधान र विधिको शासनलाई मजबुत बनाउँदै राजनीतिक स्थायित्वतर्फ अघि बढेको बताइन्। उनले उक्त उपलब्धि सम्पूर्ण नेपाली जनताको संयमता र सहकार्यको परिणाम भएको धारणा राखिन्।
प्रधानमन्त्रीले सबै मतदातालाई आफ्नो जिम्मेवारी सम्झेर मतदानमा अनिवार्य रूपमा सहभागी हुन अपिल गरिन्। “फागुन २१ गते अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्नुस्,” उनले भनिन्।
सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत फैलाइने भ्रामक र कृत्रिम सामग्रीप्रति सचेत रहन आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिइन्।
निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई संयम अपनाउन अनुरोध गर्दै उनले स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष भए पनि मनमुटाव र वैमनस्य अस्वीकार्य हुने स्पष्ट पारिन्। मौन अवधिको पूर्ण पालना गर्न पनि उनले आग्रह गरिन्।



कागजपत्र |
