विशेष महाधिवेशनपछि कांग्रेसमा रूपान्तरणको सुरुवात छ : विश्वप्रकाश शर्मा


काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नीतिगत रूपान्तरणसहित गरिएको नेतृत्व परिवर्तनले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन्। विदेशमा रहेका नेपालीलाई लक्षित सन्देश दिँदै उनले परिवर्तन केवल घोषणा गरेर सम्भव नहुने उल्लेख गर्दै त्यसको व्यावहारिक सुरुवात कांग्रेसबाट भइसकेको दाबी गरे।

उनले प्रशासन, राजनीति, दल र सरकारसहित समग्र राज्य संरचनामा व्यापक सुधार आवश्यक रहेको औंल्याउँदै नेपाली कांग्रेसले रूपान्तरणको अभियान अघि बढाएको बताए। शर्माका अनुसार पार्टीले विदेशमा रहेका नेपाली (एनआरएन) का भावना र अपेक्षालाई सम्बोधन गर्ने स्पष्ट नीति तय गरेको छ।

‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारालाई समर्थन गर्दै उनले नागरिकतासम्बन्धी विषयमा उदार दृष्टिकोण अपनाउने प्रतिबद्धता जनाए। साथै, सर्वोच्च अदालतको आदेशअनुसार विदेशबाटै मतदान गर्ने अधिकार सुनिश्चित गर्न पहल गरिने जानकारी दिए।

शर्माले विदेशमा रहेका नेपालीको मन, सीप र पुँजीलाई स्वदेशसँग जोड्ने उद्देश्यसहित ‘जीडीपीपी’ अवधारणा अघि सारिएको बताए। सरकार, डायस्पोरा र निजी क्षेत्रबीच सहकार्य गरी ठूला परियोजना सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।

प्रतिक्रिया