
अरविन्द केजरीवाल भ्रष्टाचार प्रकरणबाट मुक्त
दिल्ली – दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल मदिरा नीतिसँग सम्बन्धित कथित भ्रष्टाचार प्रकरणमा अदालतबाट आरोपमुक्त भएका छन्। राउज एवेन्यू अदालतको निर्णयपछि उनी भावुक देखिए र सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै भने, “पछिल्ला केही वर्षदेखि भारतीय जनता पार्टीले हामीमाथि जसरी आरोप लगाउँदै आएको थियो, आज अदालतले सबै आरोप खारेज गरिदियो। सत्यको जित भएको छ।”
केजरीवालले यस प्रकरणलाई “नक्कली षड्यन्त्र” भनेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह माथि पनि निशाना साधेका छन्। उनले भने,
“मोदीजी र अमित शाहजीले मिलेर स्वतन्त्र भारतको सबैभन्दा ठूलो राजनीतिक षड्यन्त्र रचे। आम आदमी पार्टीका पाँच प्रमुख नेतालाई जेलमा हालियो, यहाँसम्म कि कार्यरत मुख्यमन्त्रीलाई समेत जेल हालियो।”
भावुक हुँदै केजरीवालले थपे, “केजरीवाल भ्रष्ट होइन। मैले आफ्नो जीवन इमानदारीपूर्वक बिताएको छु। झुटो मुद्दा लगाइयो र आज अदालतले त्यसको पुष्टि गर्यो।”
उनकी पत्नी सुनीता केजरीवाल ले पनि एक्समा लेख्दै भनेकी छन्, “सत्यको सधैं जित हुन्छ।”
यो फैसला केन्द्रीय अनुसन्धान एजेन्सी सीबीआई द्वारा दायर मुद्दामा आएको हो। अदालतले सीबीआईको अनुसन्धानमा रहेका कमजोरीहरूलाई स्पष्ट रूपमा औँल्याउँदै हजारौँ पृष्ठको चार्जशीटमा रहेका दाबीलाई साक्षीविहीन ठहर गरेको छ। विशेष न्यायाधीश जितेन्द्र सिंह ले चार्जशीटमा रहेका “भ्रामक दाबीहरू” औँल्याएका थिए र केजरीवाललाई कुनै ठोस प्रमाणबिना आरोपमा जोडिएको टिप्पणी पनि गरे।
अन्ततः राउज एवेन्यू अदालतले केजरीवालसहित २३ अभियुक्त सबैलाई आरोपमुक्त गरेको छ।



कागजपत्र |
