
आईसीसी टी-२० विश्वकपः पाकिस्तानलाई हराउँदै एक खेल अघिनै सेमिफाइनलमा इंग्ल्यान्ड
काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ। मंगलबारको खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै सुपर आठको एक खेल अगाडि नै इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो।
महत्त्वपूर्ण खेलमा इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे। उनको शतक नै जितको मुख्य आधार बन्यो। उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरेका हुन्। पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ब्रुकको शतकको मद्दतमा ५ बल बाँकी हुँदा १९ ओभर १ बलमा १६६ रन बनाउँदै पूरा गरेको हो।
इंग्ल्यान्डलाई रोक्न पाकिस्तानका लागि साहिद शाह अफ्रिदीले ४ विकेट हात पार्दा नवाज र तारिकले समान दुई-दुई विकेट लिए।
टस जितेर सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि साहिबजादा फरानले अर्धशतकीय इनिङ खेले। उनले ४५ बलको सामना गरेर ६३ रन बनाएका हुन्। फखर जमानले र बाबर अजामले समान २५–२५ रन बनाए।
यो जितसँगै इंग्ल्यान्ड पाँचौं पटक विश्वकपको सेमिफाइनल पुगेको छ। एक खेल अगाडि सेमिफाइलन पुगेको इंग्ल्यान्डले सुपर आठको अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।



कागजपत्र |
